साँच्चि नाम झै उजेलि, हँसिली अनि असाध्यै राम्रि थिइन चाँदनी । उमेर २० बर्ष भर्खरै टेकेकि, उनिमा यो चाहि कमि छ भनेर खोट लगाउने ठाँउ थिएन। आनिबानि, चालचलन्, सबै कुरामा उनि निपुर्ण थिइन। घरायासि परिवार मध्यम बर्गिय आर्थिक हैसियतको थियो। छाक टार्न र चाडवाडमा मिठो मसिनो खान अनि आबश्यक परेको सरसमान किन्न सक्ने नै हैसियतका थिए परिवार पनि। उनको बुवा विध्युत प्राधिकरणमा मिटर रिडरको अस्थायि जागिर गर्दथे। महिनावारी तलब आउने हुदा टार्नै पर्ने गर्जो टार्न सक्ने ल्याकत थियो परिवारको। खेतिपाति बर्ष भरि खान पुग्ने नै थियो। करेसाबारिमा तिहुन आफैले उब्जनि गर्ने हुँदा गाउ घरमा राम्रै सङ्ग जीवन बिताउदै थिए चाँदनीका परिवार।
चाँदनीको भर्खरै दश जोड दुइको फाइनल एक्जाम सकेको जम्मा-जम्मि २ साता मात्र बितेको थियो। मामाघर तिर केहि दिन बसि आउनु पर्यो भन्ने योजना गर्दै थिइन चाँदनी। गाउका उहि छिमलका अल्लारे ठिटाहरु मात्र नभै कलेजमा समेत उनको रुप रङ्गको पछि लाग्ने केटाहरु कैयौ थिए। तर चादनीले कसैलाइ वास्ता नगरि केवल आफ्नो पढाइलाइ मात्र ध्यान दिदै एक क्लास देखि नै हासिल गरिदै आएको प्रथन स्थान डगमगाउन दिएकी थिइनन।
यसै क्रममा पल्लो गाउको गुरागाँइको छोरो राजु कुबेतबाट भर्खरै छुट्टिमा घर गरेको बेला बिहेवारि गरेर मात्र फर्कन घर सल्लाह भएको हुँदा कन्यार्थको लागि बिभिन्न च्यानल हुदै कुरा चाँदनीको घर सम्म आइपुग्छ। राजु उसको बा काका, अनि फुपाजु सङ्ग केटि हेर्न गएको हुन्छ। राजु पनि एक केटा मान्छेमा हुनु पर्ने रुप रङ्गको, हिस्सि परेको ह्याण्डसम छ। पढाइ चाँहि एस एल सि भन्दा माथि पढ्न मन नगरेको हुदा बिदेश पठाइदिएका रहेछन गुरागाँइ बा ले। कुबेतमा पनि राम्रै जागिर गर्ने राजुको घर परिवार अनि खान्दान पनि गाउमा इज्जतिलो परिवार भित्रै गनिने थियो। गुरागाइ बा हाइ स्कुलको मास्टर्, आमा मातृ शिशु कार्यकर्ता, घरको एक्लो छोरो राजु, खेत बारि पनि राम्रै भएको। गाउघरको हिसाबमा झण्डै-झण्डै सम्पन्न परिवार भित्रै पर्ने परिवार थियो।
कन्यार्थको लागि पुग्दा केटाले केटि देख्नासाथ मन पराइहाल्यो। अनि चाँदनीले पनि हेर्दा केटा राम्रो लागे तापनि 'मन पर्यो' भन्न त सिधै मिलेन। र पनि केहि बोलिनन। अनि चिया नास्ताको कार्यक्रम सकिए पछि दुबै पट्टिकाकाले केटाकेटि मन पराए अनि लास्टमा सोधनि भो - "साच्चि बाबु बिदेश चाहि खास कुन देशमा जानु भएको रे?" राजुले आफु कुबेतमा काम गर्ने भन्ने जवाफ दिनसाथ मुख आलि अमिलो अमिलो जस्तो बनाएर "छोरि सानै छे अहिले, भो हजुर अहिले केहि साल बिहे नगर्ने पो बिचार गर्यौ हामिले" भन्ने जवाफि दिई राजुको परिवारलाइ फर्काइदिए उनिहरुले। राजुको सबै चित्त बुझेको उनिहरुको परिवारलाइ तर उ बस्ने देश खाडि भएकोले चित्त नबुझ्ना साथ जोडिनै लागेको सम्बन्ध पनि टुङ्गियो।
एवम रितले चाँदनीलाइ हेर्न पल्लो गाउको मा.बि. स्थायि मास्टरमा नाम निकालेको देबेन्द्र पनि गयो, मास्टरिको जागिरले पनि अहिलेको यो महङ्गि मा थोडि गुजारा चलाउन सकिन्छ र भनेर अस्विकार गरिदिए। कोरियाको लाहुरेको प्रस्ताब, जापान बस्नेको प्रस्ताब, साइप्रस् बस्नेको प्रस्ताब केहि न केहि बहाना बाजि बनाएर पन्छाइदिए। केहि दिन भित्रै अमेरिका वालाको घर परिवार बाट प्रस्ताब आयो। केटो हेर्दै नहेरि "लौ हजुर लगन चाहि कहिले लाइ जुराउने हो चाडै गरौ है" भन्ने जवाफ दिइ छोरीको बिहे झण्डै २ विस हाराहारिको मिस्टर ड्वार उर्फ डोर प्रसाद सङ्ग सङ्ग गराइ दिए।
केहि समय पछि चाँदनी पनि अमेरिका पुगि। गाउलेहरुले कस्तो भाज्ञमानि रहिछे है त्यो चादनि, हेर्दा हेर्दै अमेरिका पुगि भनेर २ बित्ता जिब्रो निकल्न थाले। उहि त हो, अमेरिकामा चाहि रुख मा पैसा फल्ने पक्कै होइन। घण्टा हान्नै पर्ने आफ्नो गर्जो टार्न। बुढाको दिनमा ड्युटि पर्दा बुढिको नाइट ड्युटि पर्ने। सातामा १ दिन भेट हुने। सङ्गै हिड्दा पनि लोग्ने स्वास्नि जस्तो पनि नदेखिने, बाउ छोरि झै देखिने। घर्, गाडि इत्यादिको किस्ता तिर्न लाइ दिनरातै काम काम भन्दा भन्दै वाक्कै भएर बसेको पनि ५ साल बितिसकेछ।
५ साल पछि उताको ब्यबहार मिलाएर चाँदनीका बुढा बुढि नेपाल आएका छन अहिले। केहि दिन घरमा बसे पछि उनि अहिले माइति गाउ आएकी छिन। आइफोन ब्राण्डको लेटेस्ट भर्सन मोबाइल बोकेर। हातमा सुनका ब्रासलेट लगाएर। आफुलाइ पहिला माग्न आउदा अस्विकार गर्ने हरुको हाल बुझ्न खोज्दछिन। माग्न आउने जम्मैको त बुझ्न नपाए पनि राजू र मास्टरको बारेमा ।
'खाडिवाला' भनि क्यान्सिल गरेको राजु अहिले उक्त कम्पनिको सिनियर सुपरभाइजर भै सकेको रहेछ। करिब १०० जना भन्दा बढि बिदेशि कामदार हरुलाइ सुपरभाइज गर्ने लिडर छ। कम्पनिले बस्न फ्लाट दिएको छ, काममा जान आउन गाडि दिएको छ इन्धन्, मेन्टेनेन्स सबै सुबिधा सहित नै। हरेक बर्ष १ महिनाको बिदा पनि कम्पनिले दुइ तर्फि टिकेट नै दिएर घर बिदा दिदो रहेछ। उनको श्रीमती गाउ कै हेल्थपोस्ट प्रमुख रहिछिन। अहिले बिदा लिएर कुबेत घुम्न लगेको रहेछ राजुले बुढिलाइ। बजारमा ३ तल्लाको राम्रो घर बनाएर भाडामा लगाएको रहेछ। घरमा ब्रोइलर कुखुराको ब्यबसायिक पालन पनि गरेका रहेछन। चट्ट ८ घण्टा काम गरे पछि आफ्नो बाकि जिवन आफ्नै ढङ्गले जिउन मिल्ने, घर तिरको ब्यबहार पनि कस्तो मज्जाले मिलाइरहेका सबैले। कत्ति खुशि छन उनिहरुको पनि परिवार। झण्डै- झण्डै प्रत्येक ३ महिना जति मा दश लाख माथिको कारोवार हुने रहेछ कुखुरा ब्यबसायबाट। स्वदेश-बिदेशको रोजगार्, ब्यबसाय सबै गरेर अनि कुखुरा फार्ममा काम गर्नेलाइ तलब दिएर न्युनतम पनि ३ लाख माथि नै मासिक बचत गर्ने रहेछन उनिहरुको परिवारमा पनि।
उता पल्लो गाउको मास्टर, सो स्कुलको हेडमास्टर रिटायर भएकोले उनि नै सो पदमा आन्तरिक प्रतिस्पर्धाबाट अहिले हेडमास्टर भएका रहेछन। गणित बिषय पढाउने भएकोले उनले गाँउ कै बजार निर कोचिङ सेन्टर पनि सन्चालन गरेका रहेछन स्टाफहरु राखेर। साथै स्टेशनरी तथा पुस्तक पसल खोलेका रहेछन। घरमा बा आमाले सहयोग गर्नु हुदो रहेछ उनले न भ्याउदाको समयमा। खेत बारिमा तरकारि आफैले उत्पादन गर्ने, ब्यसायिक खसि बाख्रा पालन गर्न १ सहयोगि राखेर राम्रो आम्दानि समेत गरिरहेका रहेछन। उसको श्रीमती गाउकै बोर्डिङ स्कुलमा प्रिन्सिपल। बुढि स्कुटरमा, बुढा पल्सर बाइकमा हिड्ने रहेछन। बुढा बुढि दुबैको जागिर्, ब्यापारि इत्यादिबाट जम्मा गर्दा झण्डै पुग नपुग २ लाख जति मासिक बचत गर्ने रहेछन। कस्तो खुशिको परिवार रहेछ उनिहरुको। मास्टर, जो आफ्नो सरकारि कार्यलयको प्रमुख छ। उसको निर्देशनमा नै सो कार्यालयको काम कारवाहि अगाडि बढ्ने गर्दछ। उनकि श्रीमती पनि प्रमुख पदमा छिन। हाँसिखुसि साथ इज्जतिलो जीवन बिताइ नै रहेका छन।
अनि फेरि सोच्दछिन्- हालको हाम्रो मध्यम बर्गिय परिवारको बिबाह गर्ने सवालमा मनमा आउने लालसा । नेपाल मै बसेर पेसा ब्यबसाय गर्ने माग्न आउदा नजर अन्दाज गर्ने, खाडिवाला लाहुरे आउन साथ उमेरै नपुगेकोले अस्विकार गर्ने, कोरिया जापान तिरको भए घर सल्लाह गरेर खबर गर्छौ भनेर टार्न खोज्ने, युरोप पट्टिको पनि त्यस्तै उस्तै देशवाट आए छोरि संग सल्लाह गरि भरे खबर गर्छौ, अस्ट्रेलिया, क्यानाडा, अमेरिका वाला आएमा केहि बुझ्दै नबुझि ठाँउको ठाँउ बिहेको निर्णय नै सुनाइदिने मेण्टालिटि अनि सो लाइ 'अहोभाग्यशालि' को उपमा दिने सामाजिक मनस्थिति। खाडि लाहुरे माग्न जाँदा नपुगेको छोरीको उमेर, अमेरिकाको ग्रिनकार्ड वाला पुग्नासाथ १ महिना भित्रै उमेर पुगिसके छ छोरिको।
फेरि मनोवाद गर्छिन - उनिहरुको खुशि, हाँसो अनि सफल पारिवारिक सद्भाव। आनन्दको जीवनयापन्, उता आफ्नो मेसिन गतिमा दगुरै, घर गाडि मोबाइल इत्यादिको किस्ता चिन्ता, अमेरिकाको फुड कम्पनिमा प्रति दिन १२ घण्टा नाइट काम गर्ने उनि उताको 'घण्टे जीवन'! यस्तो सोच्छिन्, पहिला आँखाको वरिपरि हल्का हल्का 'रिङ्कल' थियो तर अहिलेको अनिदो नाइट ड्युटिले रिङ्कलको वरिपरि चाँहि आँखा भएको महसुस हुने, पहिला पहिला मन लागेको हेयर कलर र स्टाइलमा सान सौकतका साथ हिड्ने चाँदनी अहिले १२ घण्टे ड्युटि पोसाक को बन्दर टोपिले गुम्लुङ्ग छोपेर बस्नु पर्दा अनि एकाबिहानै ड्युटि सकाएर फुङ्ग उडेको फुस्रो अनुहार र झुत्रिएको कपाल स्याहार्दै हतार हतार रेल चढ्न दगुरिनु पर्दाको पल बिच तुलना गर्दै धिक्कार ! पैसै रहेछ जीवन भनेको है भन्दै खुइय... गर्छिन ! अनि काम गर्ने ठाउमा सबैभन्दा तल्लो हैसियतमा अरुले दिएको निर्देशन पालना गर्नु पर्ने कर्मचारि, उभ्भिएर १२ घण्टा सम्म काम गर्दा करकरि दुख्ने कम्मर र फतक्क चलेका गोडा, घरमा आँउदा दुख बिसाउन कुराकानि गर्न र भावना सेयर गर्न साथमा बुढा नहुँदाको एक्लोपना यि सबै कुरा मनमा खेलाउँछिन। अनि कमाइको पनि तुलना गर्छिन भलै उनिहरुको भन्दा बढि नै कमाइ हुन्छ आफ्नो तर सबै खर्च काटेर बचेको बचत अङ्क सायद उनिहरुको भन्दा सानो हुन्छ होला। अनि 'अमेरिका छु' भनेर के गर्ब गर्नु थुक्क जिन्दगि ! भनेर मनमा यावत कुरा खेलाउदै धेरै बेर सम्म अनिदो हुदै बल्ल निदाउछिन।