Logout

अनुशासन र साहसको महाकुम्भ: कास्कीमा जुनियर बेल्ट टेस्ट भव्य रूपमा सम्पन्न

3.9k Shares

पोखरा, जेठ ।


जब रगताम्य पसिना र अथक साधनाले खेलमैदानमा आकार लिन्छ, तब एउटा कुशल खेलाडीको जन्म हुन्छ। खेलकुद केवल शारीरिक कसरत मात्र होइन, यो त जीवन जिउने कला र कडा अनुशासनको अर्को नाम हो। यही मान्यतालाई आत्मसात गर्दै नेपाल क्युकोसिन-कान कराते संघ, कास्कीको आयोजनामा पोखराको पावन भूमिमा 'जुनियर बेल्ट टेस्ट' कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
संघका अध्यक्ष एवं प्रखर शाखा प्रमुख लक्ष्मण कुँवर ज्यूको गरिमामय सभापतित्वमा सञ्चालित उक्त समारोह ऊर्जा र उत्साहले ओतप्रोत थियो। कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार ज्यूले खेलाडीहरूको हौसला बढाउनुभयो। उहाँले 'अनुशासन र नियमित अभ्यास' नै सफलताको अचुक कडी भएको प्रस्ट पार्दै कडा मिहिनेतले मात्रै कुशल र राष्ट्रप्रेमी खेलाडी बन्न सकिने गौरवमय विचार व्यक्त गर्नुभयो।
कास्की जिल्लाका विभिन्न डोजो र विद्यालयहरूबाट मार्सल आर्टको सुवास छर्दै आएका २०० जना भन्दा बढी जुनियर खेलाडीहरूको आँखामा एकप्रकारको दृढ संकल्प र उत्साह झल्कन्थ्यो। ती कलिला पाइलाहरूले ओभल मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्दा उपस्थित दर्शकदीर्घा मन्त्रमुग्ध बनेका थिए। खेलाडीहरूको प्राविधिक स्तर र कलालाई जाँच्नका लागि निर्णायक (Judges) को रूपमा सुवास खड्का, अर्जुन बराम, विनोद क्षेत्री, अनिल नेगी, अजय नेपाली, मोसेज कुमाल, सर्बद पौडेल र अनिल बराम, बिधुर पाख्रिन र अनिल गुरुङ ज्यूहरूले निष्पक्ष भूमिका निर्वाह गर्नुभएको थियो।
परिक्षा निकै कडा र क्युकोसिन-कान करातेको कडा नियम र अनुशासनको परिधिभित्र रही सञ्चालन गरिएको थियो। खेलाडीहरूले मार्सल आर्टको मेरुदण्ड मानिने बेसिक (Basic), स्टेपिङ (Stepping), काता (Kata) र कुमिते (Kumite) को उत्कृष्ट अभ्यास र कौशल प्रस्तुत गर्दै आफ्नो बेल्टको गरिमा प्रमाणित गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वरिष्ठ खेलाडीहरूको उत्साहजनक उपस्थिति र आफ्ना सन्तानको साहसिक मोडलाई नियालिरहेका आदरणीय अभिभावकहरूको उपस्थितिले कार्यक्रमको गरिमालाई अझ उच्च बनाएको थियो।
समारोहको सुखद समापन गर्दै सभापति एवं शाखा प्रमुख लक्ष्मण कुँवर ज्यूले नव-उत्तीर्ण खेलाडीहरूलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले खेलाडीहरूलाई मार्गनिर्देशन गर्दै भन्नुभयो— "तपाईँहरूले जुनसुकै रंगको बेल्ट वा तह प्राप्त गरे तापनि आफ्नो बेल्टको स्तर र मर्यादा अनुसारको आचरण र अनुशासनमा सदैव रहनुपर्छ।" साथै, आगामी दिनहरूमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि अहिलेदेखि नै कम्मर कसेर तयार रहन आग्रह गर्दै, सम्पूर्ण खेलाडीहरूको सुखद खेल जीवनको कामनासहित यो गौरवमय कार्यक्रमको विधिवत् समापन भयो।
"अनुशासन, गतिशीलता र साहस— यही हो क्युकोसिन करातेको वास्तविक पहिचान!"

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार