Logout

कागजको कुलो र सन्तलालको पुर्पुरो

2.3k Shares
स्याङ्जाको आरुचौर बजारबाट २ कोष पल्तिर पहाडको फेदिमा रहेको सो फुस्रे गाउ, जहाँ हावा पातलो तर नेताहरुको राजनीतिक आश्वासन बाक्लो हुने गर्थ्यो। किनकि त्यहा जे भने पनि पत्याइदिने गरिव र नपढेका अधिकाङ्स दलित्, जनजाति मानिसहरु बस्ने गर्दथे। 
 
सोहि गाउ सन्तलालको नामका एक सोझा किसान बस्दथे। सरकारको नजरमा सन्तलाल 'लाटो' थिए, किनकि उनी विश्वास गर्थे कि, बीउ रोपेपछि बिरुवा उम्रिनुपर्छ र कर तिरेपछि विकास हुनुपर्छ। उनी उनि त्यस अन्कण्टार गाउँमा बस्दथे, जुन काठमाडौंका चिल्ला महलहरू भन्दा निकै टाढा थियो।
1000012810.jpg
 
कथा 'सुनौलो पाइप आयोजना' बाट सुरु भयो। 
मन्त्री धुलो उडाउँदै, सुकिला टाइसुट्, चमेलिको तेलले जुल्फि लर्काएर् महँगो अत्तरको बासना मगमगाउदै अघिपछि आफ्ना आसेपासेको ताति लगाएर गाउँ आए। उनको हातको सुन झै देखिने पहेलो रङको रोलेक्स् घडी टल्किरहेको थियो।
 
उनको तमासा हेर्न त्यो दिन स्वागत गर्न भनि भुराभुरिलाइ उभ्याइएको थियो स्कुल नै बिदा दिएर। लावालस्कर सहित आएका उनले सुरुमा काठको पिर्कामा उभिएर, पिर्के सलामि खाए अनि खादा र सयपत्रीको माला पहिरिँदै घोषणा गरे कि, आफुलाइ फेरि पनि भोट दिएर जिताउने सो गाउका किसानहरुका लागि आफुले सिँचाइ कुलो निर्माण गर्नका लागि २ करोड रुपैयाँ पारिदिएको। अब माथि हिमालको पानी तपाईंहरूको खेतमा बग्नेछ!" उनले चिच्याएर भने।  
 
सबैले परर... तालि बजाए। सन्तलालले सबैभन्दा धेरै ताली बजाए। उनले अहिल्यै सुक्खा धुलो उडिरहेको बारीमा मकैका हरिया बोटहरू झुलेको कल्पना गरिसकेका थिए।
 
एक हप्ता पछि, सरकारी अधिकारी कार्यालय आइपुगे। उनी फाइल र रबर स्ट्याम्पका मान्छे थिए। उनलाई थाहा थियो कि त्यो २ करोड पहिले नै 'काँटछाँट' भइसकेको छ। ३०% मन्त्रीको सचिवालय र पार्टी कोषमा, २०% कर्मचारि हरुका लागि 'प्रशासनिक खर्च', २०% ठेकेदारको खल्तीमा (जो मन्त्रीकै आफन्त थियो), १०% उद्घाटन्, १०% समापन अनि १०% टाठाबाठाको मुख टाल्न र अनुगमन तथा फलोअप भ्रमण भत्ता लगायत शिर्षकमा। अनि किसानको भागमा चाहि परेको थियो- 'कागजको कुलो' ।
 
सन्तलाल हरेक हप्ता पालिकाको प्रोजेक्ट अफिस पुगेर सोध्थे - "ए हजुर् खन्ने काम कहिले सुरु हुन्छ?" 
पालिका अधिकारी चिया सुरुप्प पार्दै लामो सुस्केरा हाल्थे। "सन्तलाल दाइ, प्रक्रिया जटिल छ। हामी 'प्राविधिक मूल्यांकन' पर्खिरहेका छौँ। त्यसपछि 'खरिद पुनरावलोकन' हुन्छ। यी कुराहरूमा समय लाग्छ।"
 
बल्ल-तल्ल आठौ महिनामा (जुन बेला आर्थिक बर्ष सकिने बेला भएको थियो), त्यस महिना ट्र्याक्टरमा एक लठारो नीलो प्लास्टिकको पाइप ल्याएर बेवारिसे अवस्थामा छाडियो। अनि पालिकाका प्राबिधिक कर्मचारि हरुले एङ्गल एङ्गलबाट फोटो खिचे। त्यो पाइप सुक्खा रातो माटोको बीचमा एक्लै बसिरह्यो। तर त्यतिञेल सम्म त उता सरकारि कार्यालयको कागजमा भने कुलोको काम सम्पन्न भइसकेको थियो। अधिकारीले प्रगति प्रतिवेदनमा हस्ताक्षर गरिसकेका थिए, र मन्त्रीले काठमाडौंमा बाँडिएको एउटा चिल्लो ब्रोसरमा 'सम्पन्न' आयोजनाको उद्घाटन समेत गरिसकेका थिए।
 
एक साँझ, अन्य गाउ तिरको त्यस्तै परियोजनाको त्यस्तै खाले उद्घाटन गरेर फर्कदै गरेका मन्त्रीको ल्याण्डक्रुजर प्राडो गाउँ नजिकैको हिलोमा फस्यो। मन्त्री साब गाडी धकेल्न मद्दत माग्दै "ए गाउले हो, ह न के हेरिरहेका छौ, आएर ठेल न गाडि" भनेर भित्रैबाट झोक्किएर बोले। गाउलेहरु आएर गाडि निकालिदिन मद्दत गर्दै गुनासो गरे "मन्त्री साब, कुलो त अहिले सम्म कत्ति पनि सुरु नै भएन नि। पानी फाइलमै अड्कियो, तर मेरो मकै भने सुकेर मर्न लाग्यो।"
 
त्यही नजिकै बचे-खुचेका 'सुनौलो पाइप' थियो, जसमा केटाकेटीहरू चिप्लेटी खेलिरहेका थिए। भुराहरुले त्यो पाइपलाइ टुक्रा-टाक्रि पारेर गुडाउने पाङ्रा बनाए। एकाध महिना पछि खेल्ने सामाग्रि बनाएर त्यो पाइप सबै सकियो। मन्त्रीले गाडीको कालो ऐना तल झारे। उनी अलि झर्को मान्दै बोले, "सन्तलाल्, तिमीले नेपालको 'वृहत अर्थतन्त्र' बुझ्दैनौ। हामीले पूर्वाधार दिइसक्यौँ। यदि पानी बगेको छैन भने, सायद तिमीले सही देउतालाई पुजेनौ होला।"
 
"तर कागजमा त कुलो बन्यो भन्छ नि," सन्तलालको स्वर काँप्यो, तर यो डरले होइन, एक्कासि आएको चेतले थियो। "मैले सचिवले हस्ताक्षर गरेको देखेको छु। यदि कागज नै कुलो हो भने मन्त्री ज्यू, के  
हामि कागज खाएर बाँच्न सक्छौ र ?" सन्तलालले आक्रोश पोखे। 
 
मन्त्रीले मुसुक्क हाँस्दै चालकलाई गाडी अगाडि बढाउन इशारा गर्दै भने "हेर है सन्तलाल्, यति धेरै नकारात्मक नहोऊ। आत्मामा नराम्रो प्रभाव पर्छ। अर्को वर्ष हामी 'आधुनिकीकरण अनुदान' ल्याउनेछौँ। चुनाव आउँदा यो पाइप कसले दिएको हो, नबिर्सनू नि फेरि!" ल्याण्डक्रुजर धुलो उडाउँदै गयो। सन्तलालले एकछिन त्यो नीलो पाइपलाई हेरे, अनि आफ्नो सुक्खा जमिनलाई।
 
काठमाडौंमा मन्त्रीले पाँचतारे होटलमा 'ग्रामीण विकास' नामको 'प्रोजेक्ट सक्सेसफुल् कम्प्लिट सेमिनार' आयोजना गरियो। उपस्थित सबैले तामसि भोजन र बैठक भत्ता बुझे। जिल्ला कार्यालयमा अधिकारीले सन्तुष्टिको छाप लगाउँदै अन्तिम प्रतिवेदन बुझाए। जसमा लेखिएको थियो फुस्रे गाउका यति घरधुरि किसान लाभान्वित्, सिचाइ सुबिधा भएपछि किसानहरुको उत्पादनमा उल्लेख्य सुधार भनेर उनै सन्तलालको झुट्टा केश-स्टडि समेत समावेश गरिएको रिपोर्ट पेश गरिएको रहेछ। 
 
उता गाउमा, त्यस दिनदेखि उनी कहिल्यै त्यो सरकारि कागजि अफिस गएनन। बरु केटाकेटिहरुले फालेका त्यिनै टुक्रा-टाक्रि पाइपहरुलाइ पोल-पाल गरि गासेर आकासे पानि सङ्कलन गर्ने काम गरे। त्यहि सन्चित पानिले जे जति सम्भव हुन्छ, आफ्नो बारि सिचाइ गरेर जेनातेना जिवन जिउदै जीवनको सबैभन्दा ठूलो पाठ सिके - 'राजनीतिमा पुलले नदी तर्नु पर्दैन, त्यसले त केवल हाकिमको टेबुल तरे पुग्ने रहेछ, त्यसैले हेर सन्ते! कागजी विकासको देशमा, तैले आफ्नो तिर्खा आफै मेट्नुपर्छ।'

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार