पोखरा टुटुङ्गा ब्याडमिन्टन क्लबको आयोजनामा दोस्रो नरस्मृति कप ब्याडमिन्टन प्रतियोगिता २०८२ चैत १३ गते सफलतापूर्वक सम्पन्न भएको थियो। यस प्रतियोगिताको मुख्य उद्देश्य पोखरा टुटुङ्गा ब्याडमिन्टन हलमा नियमित रूपमा खेल्न आउने खेलाडीहरूबीच आपसी परिचय विस्तार गर्नु, उनीहरूलाई खेलप्रति अझ बढी उत्साहित तथा प्रेरित गर्नु, साथै खेलमार्फत आपसी भाईचारा र एकताको भावना अभिवृद्धि गर्नु रहेको थियो।
साथै, खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले समाजमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्नु, युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्नु तथा अनुशासित, सक्रिय र ऊर्जावान समुदाय निर्माणमा सहयोग पुर्याउनु पनि यस प्रतियोगिताको प्रमुख लक्ष्य रहेको थियो।
उक्त प्रतियोगिताको समुद्घाटन पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी एवं हल सञ्चालक लक्ष्मण कुँवरले गर्नु भएको थियो। उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा वडा नं. १५ का सदस्य बलराम पौडेल, पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा भ्यू पोइन्ट सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल मन बहादुर गिरी लगायत अन्य ब्याडमिन्टन संघसम्बन्धी विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा रेफ्रीका रूपमा लक्ष्मण भण्डारी र मनोज गुरुङले भूमिका निर्वाह गर्नु भएको थियो। प्रतियोगितामा जम्मा २० टिमको सहभागिता रहेको थियो, जसअन्तर्गत लाल बहादुर पुन र सागर गुरुङको टिमले प्रथम स्थान हासिल गर्न सफल भयो भने अनिल सुनार र तेजेन्द्र शाहीको टिम द्वितीय स्थानमा रह्यो। त्यसैगरी, तृतीय स्थान रिम कार्की र चित्र शाहीको टिम तथा सनिज गुरुङ र चन्द्रकान्त वि.क.को टिमले संयुक्त रूपमा हासिल गर्न सफल भए।
प्रतियोगितामा ‘उत्कृष्ट खेलाडी’ अवार्ड राजेश जि.सी. ले प्राप्त गर्नु भयो भने ‘उत्साहित खेलाडी’ अवार्ड पुनम आले र ‘विशेष खेलाडी’ अवार्ड सनिज गुरुङले प्राप्त गर्नु भयो।
प्रतियोगिता सफल बनाउनका लागि किसान गुरुङ, विपीन थापा, गंगा कुँवर, नारायण पौडेल, लक्ष्मण पूर्जा, कुमार गुरुङ, लक्ष्मी पौडेल र कुश्मा खड्काले महत्वपूर्ण सहयोग पुर्याउनु भएको थियो।
प्रतियोगिताको समापन समारोह पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने टिमहरू तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कार वितरण कार्यक्रममा दीपक बहादुर गोदार, समितिका सल्लाहकार देवेन्द्र सुवेदी, वडा नं. १५ का सदस्य बलराम पौडेल, पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा भ्यू पोइन्ट सेकेन्डरी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक मन बहादुर गिरी लगायत खेलसम्बन्धी विज्ञ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यस प्रतियोगिताको उद्घाटनदेखि समापनसम्मको सम्पूर्ण कार्यक्रम संयोजक नवराज कुँवरले सफलतापूर्वक सञ्चालन गर्नु भएको थियो