विश्वका २१२ भन्दा बढी देशमा फैलिएको परोपकारी संस्था लायन्स क्लब इन्टरनेशनलमा नेपाली नेतृत्वले ऐतिहासिक सफलता हासिल गर्दै विश्वभरका करिब ७५० डिष्ट्रिक्टहरूमध्ये उत्कृष्ट डिष्ट्रिक्ट को डिष्ट्रिक्ट गवर्नर बन्ने गौरव प्राप्त गरेको छ।
डिष्ट्रिक्ट ३२५ आई, नेपालका गभर्नर लायन विनोद ढुंगानाले आफ्नो कार्यकालमा ६५ वटा नयाँ क्लबहरूको स्थापना गरी लायन्स क्लब ३२५ आइ नेपाललाई सर्वोत्कृष्ट डिष्ट्रिक्टको रूपमा स्थापित गर्न सफल भएका हुन्।
नेपालमा सक्रिय १५ वटा डिष्ट्रिक्टहरूमध्ये अन्य तीन जना डिष्ट्रिक्ट गभर्नरहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारेका छन्:
लायन रामशरण बस्नेत (डिष्ट्रिक्ट ३२५ E) — ४९ क्लब स्थापना गर्दै विश्व चौथो स्थानमा।
लायन कमलबहादुर कायस्थ (डिष्ट्रिक्ट ३२५ G) — ४८ क्लब स्थापना गर्दै विश्व पाँचौं स्थानमा।
लायन मिलन थापा (डिष्ट्रिक्ट ३२५ J) — ३२ क्लब स्थापना गर्दै विश्व सातौं स्थानमा।
नेपालका गभर्नरहरूको नेतृत्व, सेवा भाव र प्रतिबद्धता विश्वभरका लायन्स अभियन्ताहरूका लागि प्रेरणाको स्रोत बनेको छ। सामाजिक सेवा, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय परियोजनाहरू नेपालमा भित्र्याउने सफलताले नेपाललाई लायन्स इन्टरनेशनलको अन्तर्राष्ट्रिय मञ्चमा उच्च सम्मान र पहिचान दिलाएको छ।
नेपालबाट प्रतिनिधित्व गर्ने चारजना डिष्ट्रिक्ट गभर्नरहरूको यो ऐतिहासिक सफलता केवल संस्थागत विस्तारको संकेत मात्र होइन, नेतृत्व क्षमताको सशक्त प्रमाण पनि हो। यसले भावी दिनहरूमा नेपालबाट अन्तर्राष्ट्रियको नेतृत्वको ढोका खुल्ने विश्वास गरिएको डिष्ट्रिक्ट गभर्नर विनोद ढुङ्गाना बताउँदछन्। ।
लायन्स क्लबको कार्यकाल हरेक वर्ष जुलाई १ बाट सुरु भई जुन महिनाको अन्त्यमा सम्पन्न हुने परम्परा रहँदै आएको छ।