कहाँ हो कहाँ, कता हो कता
मनको अनकन्टार जङ्गलमा
को हु को हु भन्दै चिच्याइरहेकि
कोइलि आवाज र
बाँसुरी रोएको जस्तो सुनियो भने
त्यहि पो हुन सक्छ कि कविता ।
बिज्याइमा रङ्गेहात समातिएको
नाबालकको बदमासि झै मिठो डरमा
थरथर थरथर काँप्दा काँप्दै
भक्कानो फुट्ला जस्तो भयो भने
बढ्ने ढुकढुकि झै पो हुन सक्छ कि कविता ।
समयको कान्छी औँला समाएर
नौजवान् युगल वयस्क
झरीको न्यानो च्यादर ओढी
जूनको आँखा छल्दै
न्यानो आलिङ्गन भित्र
जोडिने ओठ जस्तो पो हुन सक्छ कि कविता ।
बार्दलीमा बसेर
कोही आउँदै गर्दाको पर्खाइ र
जाँदै गर्दा देखुञ्जेल सम्मको
हेराइबाट उत्पन्न हुने
तिर्खा पो हुन सक्छ कि कविता ।
हजारौँ दमाहाहरू एकैचोटि बज्दा
नसाभित्र उम्लने खुन
आफसे आफ हल्लिरहेको शरिर
सयौ सारङ्गीहरू एकैचोटि रेटिँदा
अनायासै मनमा उत्पन्न हुने
विभेदको कर्कस धुन जस्तो पो हुन सक्छ कि कविता ।
आँशुको भङ्गालो बोकेर
छोरीको गोडा धुँदै गर्दा
बाको आँखा भित्र छचल्किरहेको
सुनामी-छाल् जस्तो पो हुन सक्छ कि कविता ।
बालकको पिठ्युँमा बसेको
पाँच औँलाको छाप र
छैठौँ सिर्किनाको सुम्लो बढ्दै गएर
बन्दुक जस्तो आकारको देखिने
विद्रोही बिरुवा जस्तो पो हुन सक्छ कि कविता ।
हतकडी लगाई फाँसीको फन्दासम्म पुर्याएर
डोरीभित्र टाउको छिराउनु अघि
आमा-छोराको आँखा जुध्दा
आमाको छातीभित्र रुमानि ब्रम्हाण्ड हल्लाइरहेको
भुँइचालो जस्तो पो हुन सक्छ कि कविता ।
आत्महत्याको बाटोमा
हुरीको खुट्टा टेकेर दौडिरहँदा
प्रेमको पर्खाल बनेर छेकिदिने
जीवनको सौन्दर्य पो हुन सक्छ कि कविता ।
गरिबीको हत्या गर्न नसकेको
आदिम गरिबले
आफैँमाथि आगो लगाउदा
उडेको खरानी जस्तो पो हुन सक्छ कि कविता ।
एकै समयमा, एउटै ठाउँमा
सोहि रुखको एकै हाँगामा सँगै बसेर पनि
बेग्ला बेग्लै सरगम गाउने
चरिको गीत पो हुन सक्छ कि कविता ।
भर्खरै ढोकामा ताला झुण्ड्याएर
बसाइँ हिँड्दै गर्दा
एक्लै उभिएको घरले
कलेजाको छेउ समातेर
गरेको बिन्ती पो हुन सक्छ कि कविता ।
आफू सँगै सुत्ने सपना
र आफू सँगै हिँड्ने सपना बिचको
भिन्नता पो हुन सक्छ कि कविता ।
तलब बुझेको तीन दिनपछि
एउटा औसत कारिन्दाको
रित्तो गोजी भित्र देखिने
देशको सग्लो चित्र पो हुन सक्छ कि कविता ।
कस्तो हुन्छ यो कबिता
अह, न लेख्न जाने, न त बुझ्न जाने
जाने त केवल केर्न र
के नमिलेको- नमिलेको जस्तो लाग्दा
कच्याक कुच्चुक पार्दै
मिल्काए धेरै कबिता ।