Logout

"निष्ठुरि बुवा"

3.9k Shares
बा ! हामिले झै तिमिले
न कुनै दिन गुनासो पोख्यौ, 
न त अबेर सम्म सुत्यौ
न कहिल्यै मिठो खाना खोज्यौ 
न त कहिल्यै राम्रो नाना रोज्यौ
न कहिल्यै धेरै बोल्थ्यौ,
न त मनमा धेरै कुरा नै राख्यौ
न तिम्रो कहिल्यै मन दुख्यो 
न त मनको इच्छाले केहि माग्यो
अहिले महसुस हुदैछ 
तिमि सङ्ग समय पनि त कहा थियो र 
त्यि सबैका लागि। 
 
'अन्त' र 'जन्त' जाने बेला बाहेक 
न त कुनै दिन राम्रो लुगा नै लगाउथ्यौ
न त कुनै दिन चिटिक्क परेर हिड्थ्यौ, 
'कस्तो नराम्रो भएको हाम्रा बा' लाग्थ्यो
तर आज बुझ्दैछु, 
हामिलाइ राम्रो बनाउन 
तिमिले आफैलाइ बिर्सि नै सकेका पो रहेछौ । 
 
हाट गएको दिन तिमिले 
आफुलाइ केहि नकिनि
आमाको लागि नङ पालिस् र फेरेन्लब्लि
मेरा लागि कापि, जुत्ता र खेलौना
अनि घरका लागि सामाग्रि ल्याएर 
अलि कड्किएर घुर्याउदै भन्थ्यौ 
"बोट बाटै टिपेर ल्याएको हु,
'जतन गरि नचलाउनु, छिट्टै मास्नु"
तर त्यो 'जतन' शब्द भित्र लुकेको यथार्थ 
आज महसुस गर्दैछु बुवा 
तिम्रो असिमित दायित्व र सिमित आम्दानि।
 
कहिलेकाहि आक्कल-झुक्कल्
घोप्टो परि ढल्किएर
जिउ माथि गोडाले टेकि 
'एकछिन् उफ्रि-उफ्रि त, ए केटा' भनेको बाहेक 
कुनै दिन बिसन्चो भएको 
र अस्पताल गएको थाह पाइएन
बा ! अहिले एहेसास गर्दैछु, 
खप्न सक्ने जत्तिको चोट र दुखाइ 
आफै भित्रै लुकाउन सक्ने
अदम्य शाहस् जे थियो तिमिमा।
 
सिनेमा हेर्न जान पैसा माग्दा 
'पर्दैन जान' भन्दै हकारेर पठाउथ्यौ,
'कस्तो लोभि' भन्दै फन्किएर गइ
आमाको पटुकिमा परेको सानो गाठो समाउदै
लाढे पल्टिदिदा झर्ने हुदा 
म आमा पट्टिकै प्रयासमा लाग्थे,
तर अहिले महसुस गर्दैछु,
सिनेमा लत बसेर पढाइ बिगार्ला कि
भनेर पो रहेछ त्यो हप्काइ ।
 
काम बिगार्दा सधै कराउथ्यौ
"दुइ पैसाको ढङ्ग छैन, तैले गरि खादैनस।" 
जति गालि गरे पनि 
कट्मेरो र पाकेको दुइ अम्बा भेट्यौ भने 
पहिलो टर्रो आफुले खाइ
दोस्रो चाहि हाम्रा लागि ल्याइदिन्थ्यौ 
के थाह त बा, त्यो बेला 
इख लिएर काबिल बनोस् भनेर पो 
त्यसरि कराएको रहेछौ ।
 
कहिलेकाहि सङ्गै बाहिर जादै गर्दा
हिड्न अल्छि लागेर 'बोकिदियोस्' मनसायले 
थचक्क बसि दङ्ज्ञाउदा 
आमा भन्थिन- 
"कठैबरा! बोक्नुस न, थाक्यो मेरो बाबु" 
तर तिमि सिर्कना उठाउदै भन्थ्यौ- 'खुरुक्क हिड'
एक किलास् नपढेको भए पनि 
थकाइ र दङ्ज्ञाइ बिचको मनोबिज्ञान बुझ्न सक्ने 
तिम्रो त्यो खुबि 
कुनै साइकोलोजिको माड्साप भन्दा 
बा! साच्चै नै कम थिएन ।
 
काधेकुरि कमै चढाउथ्यौ 
भन्थ्यौ- 'फटाफट आफै पइला चाल्'
हात समाएर हिँडाउनु पर्ने थियो,
तर तिमी अलि टाढा उभिन्थ्यौ
र भन्थ्यौ "आफैं हिँड्!"
हो, त्यो दिन म खुत्रुक्क लडेँ, 
कस्तो निर्दयि लाग्थ्यो त्यसबेला
तर बा! त्यो लडाइले 
मलाई आज बलियो बनाएको छ।
अहिले अनुभुति गर्दै छु-
'बोकेको कुकुरले हरिण नमार्ने' सिद्दान्तको अवधारणा
बा! तिमिलाइ उहि बेलै थाह रहेछ।
 
आमाले झै
"म तिमिलाइ माया गर्छु बाबु, सानु, कान्छु" 
मेरो मुटुको टुक्रा,
तिमि त हाम्रो सन्सार
तिमि बिना हामि अधुरो हुन्छौ"
कहिल्यै मुखले भनेनौ
न त कुनै दिन 
लोकाचारि भाका नै बोल्यौ
त्यो बेला मलाई तिमी त दुश्मन जस्तै लाग्थ्यो।
तिमीले कहिल्यै मलाई 
'बिशेष् स्याहार' गरेनौ,
न त सधै घोडा नै बन्यौ
न त हात समाएर आकाश देखायौ,
न मधु मालतिको कथा नै सुनायौ 
न त कुनै दिन आमाले झै लोरि गाउदै सुतायौ
तर बा तिमीले,
बोल्दै नबोलि, भन्दै नभनि
मलाई त्यो सबै थोक दियौ, 
जे मलाइ आवास्यक थियो ।
 
तिमी कहिल्यै रोएनौ, कम्तीमा हाम्रो सामु,
तर एक दिन ढोकाको चेपबाट देखे,
आखा चिम्म पारि
एकोहोरिएर भित्ता पट्टि फर्किएर 
तिमी आँखा पुछ्दै थियौ
त्यस दिन मलाई थाहा भयो,
तिमि भित्रको कठोरपना 
अनि हामिले ठानेको ढुङ्गाको मन
केवल् हाम्रो आँसु बचाउनको लागि पो रहेछ।
 
बा ! तिमि कहिलेकाहि झुट पनि बोल्थ्यौ 
जुन दिन "आज बाहिर तिरै खाएर आए" भन्थ्यौ, 
त्यस दिन तिमि भरखरै खेतबाट 
काधमा जुवा बोकि आएको हुन्थ्यौ,
पछि थाह पाए कि, बाढ्दै जादा 
खानेकुरा सक्किएको पो थियो त्यो बेला ,
बिरक्त लागेको दिन 
कसैलाइ केहि नभनि 
बरु 'निन्द्रा लागेको छ' भनि 
सम्साझै ओच्छ्यान जान्थ्यौ
तर मध्यरात सम्म पनि
आखा नझिम्क्याइ एकटकले
बिडि तान्दै टोलाएर बस्थ्यौ ।
 
बा !
तिमि कस्तो लुरे, कस्तो कमजोर् थियौ,
लाग्थ्यो तिमिमा खासै तागत र बल पनि छैन
तर मलाइ सर्पले डसेको दिन 
एक्लै दुइ घण्टा उकालो गोरेटो 
बिसाउदै-नबिसाइ दगुर्याउदै
"मन दर्हो बना है केटा,
तलाइ केहि हुन्न, म छु " 
बारम्बार मात्र यहि एक वाक्य बोल्दै
सदरमुकाम् पुर्याएकोथ्यौ ।
 
मलाइ अझै याद छ,
आमा सङ्ग ठाक्-ठुक् परेको दिन -
"मलाइ केहि मतलब-सतलब् छैन" भनि झर्किन्थ्यौ 
तर मध्यरातमा उठेर 
हामिले झारेको सिरक ओढाएर कोल्टे फेर्थ्यौ, 
पानि नथपेको निख्खुर दुध 
अलज्ञै लोहोटामा हामिलाइ
 छुट्याइ सके पछि मात्र डेरि लग्थ्यौ
दुधमा थोरै पानि थप्नु गलत भए पनि
तर जे गर्थ्यौ, हाम्रै लागि गर्थ्यौ
बचेको दुध जमाएर वनेको दहि 
अलज्ञै बटुकोमा छुट्याए पछि मात्र
पानि थपेर 'महि-पखाले' पिउथ्यौ । 
 
पछि, शहरबाट मैले फोन गर्दा 
आमा घण्टौ बोल्थिन्
तिमि दुइ सास मै बोलि भ्याउथ्यौ
"सन्चै छस नि? पढाइ कस्तो गर्दै छस्? 
फिस तिर्ने बेला आउन कति बाकि छ? 
बराल्लिएर नहिडेस्
केहि ईलम पनि पनि गरेस्" यस्तै-यस्तै ।
लाग्थ्यो, कस्तो फोनमा समेत 
ङ्याङ ङ्याङ गर्ने के हाम्रो बा 
'राम्रो सङ्ग बोल्न समेत खोज्दैनन्'
तर आमा सङ्ग मैले बोलेको 
मेरो सबै बोलि नजिक बसेर 
सुनिरहेका हुन्थ्यौ।
 
बुबा,
तिमीले कहिल्यै 'ऐया' भनेनौ 
सायद् सो ले मलाई पनि 'दुख्छ' भनेर।
बरु भन्यौ "रोएर के हुन्छ मोरा" 
छोरो मान्छे भए पछि रुनु हुदैन
साच्चै बुवा, 
हो त्यहि देखि मैले पनि 
आफ्नो आँसु लुकाउन सिकें।
 
मैले आज सम्म नबुझेको केहि प्रश्न:-
बुबा, किन तिमीले आमाले झै 
कहिल्यै पनि "छोरा, म तिमी माथि गर्व गर्छु" 
खुलेर भन्न सकेनौ?
कि तिमी कमजोर देखिन चाहन्नथ्यौ
या त्यो 'मैले पनि त्यस्तै बानि सिकोस' भन्ने चाहन्थौ? 
या 'माया देखाउने कुरा होइन' 
भन्ने 'अब्यक्त प्रेम्' प्रमाणित गर्न चाहन्थ्यौ
कि त, ए बा !
तिमी साच्चै निष्ठुरि नै थियौ?
तर साच्चै बा, तिमि जे थियौ, 
मेरो लागि मेरो लागि सबथोक थियौ
सिङ्गो ब्रम्हाण्ड नै थियौ ।
 
तर आज आएर यति बुझें कि,
तिमिमा कोमल हृदय भित्र
नौनि झै पग्लिने ढुङ्गाको कठोर मन्
असिमित मायाको ढुकुटि बोकेर उब्भिएको
तर देखिदा मान्द्रो झै खस्रो थियो मन
झट्ट हेर्दा जस्तो देखिएता पनि 
निकालेर पढ्दा तिम्रो मन्
यत्ति चाहि 'लिखितम' गर्न सक्छु अहिले 
एक बुवाले आफ्नो सन्तानलाइ गर्ने 
तिमिले गरेको त्यो 'अब्यक्त प्रेम'  
न त यो सन्सारमा कसैले गरेको हुन्छ
न गर्ने नै छ।
 
बा !
अहिले आफै बा भए पछि 
तिम्रो पथ पच्छ्याउदै छु
जसरि म तिमि सङ्ग रिसाउथे ऊ बेला
त्यस्तै छिन फुच्चि नातिनिहरु पनि अहिले
सायद यहि त होला 
आणुबाङ्शिक नियम्
जसरि मैले बुझे- 'बुझ्ने भए पछि' 
उनिहरुले पनि पक्कै बुझ्लान
हरेक बा को कठोर् अब्यक्त प्रेम ।
आफ्ना बाको कठोर् अब्यक्त प्रेम ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार