परदेशिएका लाहुरेहरु
ग्वार–ग्वार्ति झर्दै होलान्
रोटे पिङको फन्फनीमा
यूवाहरु रम्दै होलान्
रात्माटोले लिपिएका चारकुने आगनीमा
यताउता चारैतिर घोर्ले खसी ढल्दै होलान्
मेरो आगमनको एक/एक पललाई
आफ्नै मनको आगनीमा
मिलनका सपनाहरु सजाएर बसेकी तिमी
खुसीका सुगन्धित फूलहरु
मन भरी फुलाएर पर्खीरहेकी तिमी
मायाका उन्मादमा बसन्ती भएर
मेरै प्रतिक्षामा बसिरहेकी तिमी
यता मेरो छुट्टी नमिल्ने खबरले
कहिल्लै सुक्क–सुक्क नभक्कानिनु
काली तिमीले यो दशैँ राम्रोसँग मनाउनु ....!
दशैँ सुरु हुदै गर्दा, परदेशको चौघेरामा
अर्दली रुपी यो जीवनले
अपरचित बिदेशीलाई समेत
रिझाउन सक्नुपर्ने मेरो बिडम्बना
उनीहरुले स्याम्पियन फोडी रमाउँदा
कहिल्यै नझुकाउने नेपाली शिर
भान्छे अनि वेटर बनी
सितन् र सलाद ओसारी
‘निगुरमुण्टी न’ भइदिनु पर्ने मेरो कर्म
अघिल्लो दशैँ देखि योजना बनाए पनि
हरेक साझ घर पुग्दा केहि न केहिको
तिर्नुपर्ने ‘शिलबन्दी खाम बिल’
र इमेल नोटिफिकेशन् आइसकेको हुन्छ
एकै दिन मात्र बिलम्ब गरे ‘गैरकानुनी’ हुन्छु
“यसपाली छुट्टी मिलाउनै सकिएन”
भन्ने बाहाना बनाउदै
घर आउनै सकिन
बुबा-आमा अनि छोरोको अघिल्तिर पटक्कै नरुनु
काली तिमीले दशैँ राम्रोसँग मनाउनु ....!
धेरै याद आए, हाम्रो छोराको अनुहारमा हेर्नु
अनि मलाई सम्झेर छातीमा टाँस्नु
अर्काको भुमीमा परदेशी भएपछि के गर्नु बाबै
गाडा–दोयक दशैँ-तिहार बित्यो यसै गरी
अर्दलीमा कैद भएको ज्यामी न परे
अहिले आफ्नै ऐठनको कैदमा परेको छु
म आउन नसक्ने खबरले
कहिल्लै विक्षिप्त नहुनु
काली तिमीले यो दशैँ राम्रोसँग मनाउनु ....!
मलाई थाह छ बाबै उता खरको छानो
तारामण्डल देखिने गरी चुहिने भएको
जागिर खाई मायाको सिमन्टीले टाल्छु भनेको थिएँ
आफू र आफ्ना लागि बाच्छु भनेको थिएँ
थाहै नपाई अरुका लागि मात्रै बाँच्ने बानी परिसकेछ
यता बिछोड, वेदना र अभावले मन भारी भएकोछ
समय नै त्यस्तै नै पर्यो काली
चाहेर पनि यसपाली आउनै सकिन
म नआउने खबरले हिक्कहिक्क हुने गरी
गालामा हात राखेर बलेसीमा बसी
भक्कानिएर कदापी नरुनु
काली तिमीले दशैँ राम्रोसँग मनाउनु ....!
उता आफ्नो देशमा
लोकतन्त्र ल्यायौँ, गणतन्त्र ल्यायौँ
जे ‘तन्त्र’ र ‘बाद’ आए पनि
जे आए सबै ठूलाबडा र माथिकालाई आए
हामी बेरोजगार युवाहरुलाई चाँहि कहिल्यै आएन
यता परदेशमा
मुटु चस्कने गरी भारी उचाल्दै
अनि जोड बलले हुत्याउदै यो जिवन
स्वाधिन भएर पनि अरुको अधिनमा परिरहेँ
छोट्टो ब्रेकमा कानमा एयरफोन् ठोसी
विछोडका ‘दशैँ गित” सानो स्वरले बजाउँदै
आफ्नै माथी हुरुरु उढिरहेको चिलगाडी हेरी
भक्कानिएर भित्री मन रुवाउँदै
डिउटी स्थलबाट यो कबिता कोर्दैछु
आमाबुबा र छोरोको राम्रो ख्याल राख्नु
काली यसपालीको दशैँ राम्रोसँग मनाउनु
तिमीले दशैँ राम्रोसँग मनाउनु ।
तिमीले दशैँ राम्रोसँग मनाउनु ....!!