डम्मरेकी आमा !
बाछिटाले हानेर
टाटिको माटो झरेको
बनमाराको भित्तो झैँ भइसक्यौँ हामी
कति गडिसकेछन् तिम्रा आँखा
छेपारी र नाडीका हरिया नसा
सबै लोलाएका देख्छु
खै, पिचासले पो बिगार गरे कि
कतै देउ-देउता रिसाएर हो
या त माथिबाट
पितृहरूले बोलाउने ट्याम भएर हो
घरमाथिको खन्युको रूख ढलेको देखे राति
सपना पनि साह्रै बिग्रन थाल्या छन् आजभोलि।
डम्मरेकी आमा !
लिखुरि गाईको एक लोहोटा मही
चामल पखालेको चौलानी जस्तै पातलो भए पनि
वचन खाएरै ल्याएकी छु विष्टका घरबाट
भुट है तिमि दुई घान मकै
म त्यसलाइ पिँध्छु जाँतोमा
हुने खानेहरू त चौरासी व्यञ्जन खालान्
तर मेरी थोती बूढी,
एक बटुको मही र सातु
पिरो नुन खुर्सानी हालेर
टारौँला हामी पनि आजको छाक ।
डम्मरेकी आमा !
साठी वर्ष भन्दा बढी
मैले फलाम पिट्दा
साथ दियौ तिमीले आरन चलाएर
यही आरनले उत्पादन गर्यो
गाउँभरीका लागि बन्चरो, खुर्पा कोदालो र खुकुरी
मेरी हिउँ जस्ती सेतो मनकी धनी
हामीलाई के दियो हेर त
आरनको रापिलो धुपले
अँगार जस्तै काला भइसकेछन् तिम्रा छाला ।
नातागतले उठ्नै नसक्ने भएकी छौ तिमी
चिन्ता नगर, म छु नि
जिम्मलको घरमा बेहुली भत्तेर् छ रे कानेकोर्सी
एक बटुको तागतिलो झोल मागेर ल्याउँला
अनि आधा–आधा बाँडेर खाउँला
त्यसपछि त पक्कै तङ्ग्रिहाल्छौ नि
मेरी डम्मरेकी आमा ।
पहिला-पहिला जवानीमा
सनासोले पनि च्याप्न नसक्ने तिम्रा झर्झर् गाला
म भित्रको रुमानी ब्रह्माण्ड हल्लाउने
तिम्रा प्रेमिल नजर
आफ्नै जोर हातका हस्तरेखा
देख्न नसक्ने गरी
मोतीयाविन्दुले कमजोर बनाई हाले
बाघको चाल झैँ हिँड्ने तिम्रो जिउडाल
अहिले थिर्थिराएको देख्दा
के गर्नु र बाबै
भक्कानो फुटेर आउँछ ।
डम्मरेकी आमा !
आँखा कम देख्न थालेपछि
हामी जस्तै लुते अनि बिमार
भइसकेको छ यो आरन पनि
हाम्रा श्रम र सीपको खोजीमा
फिटिक्कै आउनै छाडे गाउँलेहरू
अनेक-अनेक नया बजारिया जिनसले
हेर हामिलाइ त बर्बादै पार्यो ।
चालीस वर्ष अघि
उ त्यहि बडहरको गाँछीमा
बकुल्लाले डिम्मा पार्दै गर्दा
यही बृद्ध ढिकी छेउ
तिम्रा कोखबाट डम्मरेलाई
जम्माएकी थियौ यस धर्तीमा
अस्ति झै लाग्छ, उफ्रिदै-नाच्दै त्यो दिन
छडी हानेको भाले र एक हर्पे घिउ
छोरो जन्मिएको खुसीयालीमा
मुखियाबाका बाट पर्म असुलीमा ल्याएको ।
बिट भाँच्चिएको सिलाबरको डेक्चीमा
च्याँख्लाको कालो खोले छड्किरहेको बेला
मेरो मनको कसौडीमा फत्किरहेको
हाम्रा भूमिगत दुःख
तिम्रा चिन्ता अनि पिरलो
खै कसले पो सुन्छ र हाम्रो यो व्यथा
न निष्ठुरी शासनले, न त बहिरो देउताले ।
रिट्ठे भीर भन्दा धेरै पर
सौभाग्यको हाम्रो सुर्जे नउदाए पछि
कसको के नै पो लाग्ने रैछ र बा
भएको एक जुवान छोरो पनि
बुहारी च्यापेर सहराँ बस्छ
न वास्ता, न त दुःख बिमार
केही मतलब छैन उसलाई
आफ्नाले नै यस्तो गरेसी
को नै रैछ र
डम्मरेकी आमा
हाम्रा आफ्ना भन्नु ।
डम्मरेकी आमा !
अम्बाका एउटै गाँजमा फलेका
दुई ओटा तुलफूल जस्ता हामी
तिमी नखसेकी हुनाले म अडिएको छु
म नखसेकोले तिमी अडिएकी,
समय रूपी दैवले सुनिदिएर
चलोस त्यस्तो बतास
जहाँ एकै पटक खुत्रुक्क खसौं हामी
तिमी खसेको मैले र म खसेको तिमीले
कसैले चालै नपाइयोस्
मेरी डम्मरेकी आमा !
प्यारि डम्मरेकि आमा ! !