Logout

'मान्छे सधैँ नै मरे हुन्थ्यो’

3.4k Shares
खडेरीले बित्यास पार्दा
तिघ्रे अनि छेपारीमा मासु भएकाहरू
गाउँका अधिकांश पाखुरीवाल
झरिसके केही मधेस त कोही मुग्लान्, 
खुर्रीले निगुरो, जलुको अनि बनतरुल समेत
पाउनै गाह्रो,
दाना समेत नलागेसी कागुनोको
भोकमरी र अनिकालले 
थिल्थिलिएको सो गाउँ,
गिठा–भ्याकुर अनि सिमल–तरुल 
संयुक्त कन्दमूल उसिनाइ
अनि एक महिना देखिको नियमित खान्की !
 
तोते बोली, रग्–रगी हिँड्ने 
नबालक भुन्टेलाई
बाँधी खुट्टा जुटका दाम्लाले
लागिन् पुतली शुद्ध्याइँको भाडा माझ्न 
प्राण प्यारो भुन्टेलाई
सँगै लान मन हुँदा नि 
‘अलमल्याउँछन् भुराभुरीले’
ठाइँली मुखिनीको तुच्छ बचन
अनि भुन्टेको बचपना
बाध्य छिन् पुतली
नाबालकलाई नेलकडी लाउन !
 
बाटाभरी स्पन्दनका झझल्कोले सताउँदा 
गह भरी भित्री आँशु 
तर मन कठोर पारी
पुगिन् उनी ‘मुखिया–हबेली’
घर अनि, आगन–भरी
नता–गोता, पाहुना–पाछा
फलाक्दैछन् पुरेत बाजे संकृतका श्लोकहरू
लुगाफाटा वस्तुभाउ 
कत्ति धेरै गहना–गुरिया
बढेमानका तामा अनि झर्काका भाँडा-वर्तन
पसारो छ आँगन भरी 
धूप, दीप, नैवेद्य, पिण्ड 
बडा मुखियाको तेह्रौँ शुद्ध्याइँमा !
 
अघिल्ला दिनदेखिका बग्रेल्ती जुठा
बढेमानका खड्कुला अनि झ्याँगा 
यत्र तत्र छरिएका 
बटुलेर जुठा वर्तन
सुरु गर्छिन् आफ्नो नित्य कर्म 
घिरौँलाको जाली अनि
खरानीको सम्मिश्रणले 
घोड्दैछिन् जुठा भाँडा 
बाडाघरे भएर हो कि सायद
बढी नै छ चिल्लो–चाप्लो
बडो मिहिनेतले माझ्दा पनि
एक तिहाइ जति भाँडा
नगएकाले सोको चिल्लो
मुर्मुरिँदै, कड्किँद अनि बम्किँदै
‘ढङ्ग नभएकी लबस्तरी’ उपमा दिई
लाउँछिन् पुनः धोई–पखाल्न
रुखो बचन ठाइँली मुखिनीको !
 
यद्यपि 
तल्लिन छिन् पुतली धोई पखालीमा 
माझ्दै गर्दा जुठा भाँडा 
सम्झिन्छिन् झल्झली
आफ्नो प्यारो भुन्टेलाई 
रुँदा–रुँदै अघाएर निदायो कि,
कति भोकायो होला,
कति सुन्नियो अनि दुख्यो होला डोरीका डामले,
कति रोयो होला,
माझ्ने भाँडाको जुठोभन्दा पनि
उनै भुन्टेकै दर्पण देख्छिन्
र तप्प आँशु झार्छिन् 
किनकि यता फाँचा रन्किरहेका छन् 
उता भुन्टे बन्धनमा तिर्खाइरहेछ 
तापनि
विवशता अनि बाध्यता 
उनको गरिबीको !
 
हतार–हतार सकी सबै काम
स्याँ–स्याँ र फ्याँ–फ्याँ गर्दै
हबेलीबाट बक्स भएको 
निमेक ज्याला र बचेको खाना
टपरीमा पोको पारी 
हतारिँदै एकै सासमा 
पुगिन् भुन्टे निर 
पिसाबको दुर्गन्ध आँशुको लेग्रा
ध्वाँसे अनुहार अनि कलेँटी परेका ओठ
च्वाप्पः म्वाइ खाई टाँसी छातीमा 
स्तनपान गराई कपाल सुम्सुम्याउँदै
हेरिरहिन् आफ्नो ढुकढुकी 
गर्भे टुहुरो, प्यारो भुन्टेलाई !
 
बिर्सिइन् दिनभरीको थकाइ
देखेर अनुहारमा भुन्टेको खुशी 
मुसुक्क मुस्कुराउँछिन् मातृ–वात्सल्यतामा
अनि स्तनपानपछि उसले देखाउने
लाढेपन, चञ्चलता अनि बचपना
हातमुख धोई सरसफाइ गराई 
झिक्छिन् ल्याएको बोहोता–टपरी
भुन्टेलाई खुवाउँदै खान्छिन् आफू पनि
 
बाल–सुलभ जिज्ञासाले भुन्टे प्रश्न गर्छ
कहाँबाट आयो यति मीठो माम 
भन्छिन् पुतली सम्झाउँदै 
बडा–मुखिया मरेको
उनकै शुद्ध्याइँबाट ल्याएको 
आशावादी जिज्ञासामा भुन्टे फेरि
‘आमा मान्छे सधैँ नै मरे पनि हुन्थ्यो नि है’
‘मान्छे सधैँ नै मरे हुन्थ्यो नि है’ !
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार