समयको उद्वेलनले हाम्रो जिवनलाइ एक यस्तो मोडमा पुर्याउने रहेछ कि जहा सबै भएर पनि खै के नपुगेको - नपुगेको भावानुभुत हुने रहेछ। समयको रफ्तारमा बहदै जादा पुर्ववत जिवनका धेरै कुराहरु छुट्दै जाने रहेछन। जसमा पनि सबैभन्दा प्यारो बाल्यकालका साथिभाइ धेरैको छुट्ने रहेछन। उमेर धेरै हुँदै गयो, साथीहरू थोरै हुँदै गए, बिस्तारै उमेर बढ्दै गयो। समय अगाडि बढ्दै गयो। तर एउटा कुरा भने थाहा नै नपाई जीवनबाट हराउँदै गयो, साथीहरू। कुनै समय थियो, बिहान उठेदेखि साँझ नपर्दा सम्म साथीहरू सँगै दिन बित्थ्यो। एउटा बोलाउँदा दस जना जम्मा हुन्थे। दुःख सुनाउन पनि साथी, खुसी बाँड्न पनि साथी हुने गर्दथे। ।
घनिष्ठ मित्रहरू बीच पनि समयक्रम सँगै दूरी बढ्नु जीवनको एउटा तितो तर स्वाभाविक सत्य हो। कलेज वा विद्यालय ताका सँगै जिउने, सँगै मर्ने कसम खाएका साथीहरू पनि समय बित्दै जाँदा कता-कता हराए। चिया पसल देखि चौतारोसम्म, मेलापात देखि खेत् खलियान्, बन पाखा, घास, दाउरा, मेलापात्, रोपाइ, दाउनि । अम्बा, निबिरो, भोगटे, आप, निबुवा, इमलि लिच्चि, आरुबखडा चोराइ देखि घरको तोरि चना केराउ चोरेर बेच्न सहयोग गर्न सघाउने सम्मको जिग्रि दोस्तहरु। चुङ्गि, घुर्रा, मट्याङ्रा, गट्टा, भाडाकुटि, राजारानि भएर गरिएका बिबाह्, मोजाको बल खेल्दा हानेको छिर्किनि र भकुण्डो खेल्दा जानि जानि गरिएका फउल्, लडाइएका पञा र खेलिएका लाप्पा, डेटिङ त जन्त जान साटेर लगाइएका लत्ताकपडा, क्लास बङ्क गरेर भागेका ति उट्पट्याङका कार्यहरु। सङ्गै हिड्दा साथि लढ्दा मरिमरि पेट मिचिमिचि जिस्काउदै हासेको र पछि आफैले हात दिइ उठाएको र पछि अर्को साथि भेट्दा लड्दाको घटनालाइ अझै उट्पट्याङ कुराहरु थप-थाप गरि गरेका मजाकहरु।
देउसि भैलो खेलेर बटुलिएका पैसाले खोलाको किनारमा बनभोज जादा पकाइएक परिकारको त्यो बिर्सनै नसकिने स्वाद, स्कुल जादा पालै-पालो पछाडि चढाएर किर्लिङ किर्लिङ घण्टि बनाउदै कुदाइएको त्यो पुरानो साइकल्, कागजको रकेट बनाइ केटि साथि तिर फाल्दा उनिहरुले कराउदा बनेको 'मैले त होइन' भनि निर्दोशपनाको नाटक। इक्जाम सकिएको दिन बाटामा कुट उडाउदै बराल्लिएका पलहरु, फलानो प्लस तिलानो भनेर स्कुल को भित्तामा लेखेर लाज्स्मर्दो बनाएर गरेका बदमासिहरु। कागजको पुच्छर झुण्ड्याइदिएर गरेको प्य्राङ्क। स्कुलका अन्तिम अन्तिम दिनहरुमा भरिएका अटोग्राफका सुन्दर शब्दहरु, स्कुल सकिने दिन सर्टमा लेखिएका त्यो मिठा शब्द। हामि सङ्गै हुने है सधै, एउटै कजेल पढ्ने, एउटै बिषय भनेर गरिएका अबोध बाचा सबका सब ताजै हुदा-हुदै पनि खै कसरि र के ले दुरि बढायो बुझ्नै सकिदैन रहेछ। ।
जीवनका हरेक मोडमा साथीहरू साथमा हुन्थे। तर समय कहिल्यै एउटै रहँदैन रहेछ। उमेर बढ्दै गयो, जिम्मेवारी बढ्दै गयो। कोही जागिरको खोजीमा सहर पस्यो। कोही विदेश गयो। कोही बिहे गरेर आफ्नै संसारमा व्यस्त भयो। कोही पैसाको पछि दौडियो। कोही परिवारको जिम्मेवारीमा अल्झियो। हिजो दिनभरि सँगै हिँड्ने साथीहरू आज वर्षौँ सम्म भेट नहुने मान्छे बने। पहिले एउटा फोन गर्दा तुरुन्त भेट्न आउने साथी, आज “फुर्सद भएपछि कुरा गरौँला” भन्न थाले। पहिले एउटा दुःख सुनाउँदा रातभर साथ दिने साथी, आज म्यासेज हेरेर पनि जवाफ नदिने भए। फेसबुकको स्टोरिमा राखेको फोटो देख्दा समेत रियाक्ट गर्न अल्छि मान्ने अवस्थामा पुगिने रहेछ।
जीवनको सबैभन्दा दुःखद कुरा के रहेछ भने, साथीहरू एकैचोटि टाढा नहुँदा रहेछन्। बिस्तारै बिस्तारै हराउँदै जाँदा रहेछन्। केहि आफ्नो कारण केहि उनिहरुको कारण। पहिले जन्मदिनमा घर भरिने साथीहरू हुन्थे। आज सामाजिक सञ्जालमा दुई चारवटा शुभकामना आए भने धेरै जस्तो लाग्ने अवस्था आयो। हिजो एउटै प्लेटमा खाना खाने साथीहरू, आज एउटै सहरमा भएर पनि भेट्न समय निकाल्न सक्दैनन्। कुनै समय थियो, साथीहरू बिना जीवन अधुरो लाग्थ्यो। आज जीवन यति व्यस्त भयो कि कहिलेकाहीँ आफ्नै मनका कुरा सुनिदिने साथी खोज्दा पनि भेटिँदैन।
उमेरले एउटा सत्य सिकाउँछ। साथी धेरै हुनु ठूलो कुरा होइन, अप्ठ्यारो पर्दा साथ दिने एक जना साथी हुनु ठूलो कुरा हो। किनकि समयले धेरै साथीहरू चिनाइदिन्छ, तर कठिन परिस्थितिले वास्तविक साथी को हो भनेर देखाइदिन्छ। जब खल्तीमा पैसा हुन्छ, वरिपरि धेरै मान्छे देखिन्छन्। जब सफलता आउँछ, बधाई दिनेहरूको कमी हुँदैन। तर जब जीवनले परीक्षा लिन थाल्छ, तब धेरै अनुहारहरू आफैँ हराउन थाल्छन्। त्यही बेला थाहा हुन्छ, साथीको सूची ठूलो हुनु र साँचो साथी हुनु फरक कुरा रहेछ। कतिपय साथीहरू समयसँगै टाढा भए।
कतिपयलाई परिस्थितिले छुटायो। कतिपयलाई आफ्नो पनि, उनिहरुको पनि आधा-आधा अहंकारले छुटायो। कतिपयलाई पैसाले छुटायो। कोहि बाध्यताले टाढा भए, कोहि आडम्बरले। कोहि कमाए पछि आफु भन्दा कम हैसियतकालाइ के गनिरहनु भन्ने मपाइत्वले टाढिए त कोहि उसको हैसियतमा आफु पुग्न नसकिएकोले ग्लानिले गर्दा टाढिए। भने कोहि अहिले पैसा कमायो भन्दैमा फुर्ति देखाइरहेको छ, हिजोको हैसियत के थियो, त्यो बिर्सिएको हुदा जलन भएर टाढिए भने कोहि दिखावा प्रब्रिति ज्यादै भएकोले उसको आडम्बर देखेर टाढिए। कोहि बढि प्रगति गरेर दम्भले टाढिने रहेछन भने कोहि आफुले केहि गर्न नसकिएको हुदा ग्लानिबोधले।
कोहि फुर्सदिलो समय कम भएर टाढिए त कोहि बढि फुर्सद भएर उनिहरुको लागि बचपनमा जस्तै समयको अपेक्शा राख्नाले टाढिए। कोहि फरक राजनैतिक आस्थाका कारण टाढिए त कोहि घर ब्यबहारको रुझानमा अल्मलिएर टाढिए। तर केही यस्ता साथी पनि हुन्छन्, जो वर्षौँ नभेटिए पनि मनबाट कहिल्यै टाढा हुँदैनन्। भेट हुँदा समय रोकिए झैँ लाग्छ। कुरा गर्दा पुराना दिनहरू फर्किए झैँ लाग्छ । आज उमेर बढ्दै जाँदा एउटा कुरा झन् बढी महसुस हुन्छ । जीवनमा मान्छे थपिँदै जाँदैनन्, छानिँदै जान्छन्।
पहिले साथीहरूको भीड थियो। आज गन्न सकिने केही अनुहार मात्र बाँकी छन्। तर ती थोरै साथीहरू नै लाखौँ चिनजानभन्दा मूल्यवान लाग्छन्। किनकि उनीहरू सम्बन्ध स्वार्थले होइन, विश्वासले निभाउँछन्। उमेर बढेपछि जन्मदिन भन्दा पनि पुराना साथीहरूको सम्झना आउँछ। रमाइलो भन्दा पनि बितेका दिनहरूको याद आउँछ। भीडभन्दा पनि साँचो साथको महत्व बुझिन्छ। जीवनको यात्रामा धेरै मान्छे भेटिन्छन्, धेरै छुट्छन् पनि। तर मनमा बस्ने साथीहरू भने औँलामा गन्न सकिने हुन्छन्। सायद यही जीवनको नियम हो। उमेर धेरै हुँदै जाँदा कपाल सेतो हुन्छ, अनुहारमा चाउरी पर्छ, शरीर कमजोर बन्छ। तर सबैभन्दा धेरै परिवर्तन त साथीहरूको घेरामा आउँछ। हिजो दर्जनौँ साथी थिए, आज दुई चार जना मात्र छन्।
कडा प्रतिस्पर्धाको यो समयमा आफ्नो खुट्टामा उभिन, जागिर वा व्यवसायलाई स्थापित गर्न मानिसले आफ्नो अधिकांश समय र ऊर्जा खर्च गर्नुपर्ने हुन्छ। विवाह भएपछि, सन्तान जन्मेर उनीहरूको भविष्यको चिन्ता सुरु भएपछि, वा आमा-बुबाको हेरचाह र पारिवारिक दायित्व बढ्दै जाँदा साथीभाइका लागि समय निकाल्न निकै कठिन हुन्छ। चाहँदा चाहँदै पनि 'पारिवारिक समय' र 'साथिभाइको समय' बीच सन्तुलन मिलाउन नसक्दा दूरी बढ्छ।
समयसँगै मानिसको सोच, विचार, राजनीतिक चेतना र जीवन जिउने तरिका परिवर्तन हुन्छ। २० वर्षको उमेरमा मिल्ने साथीहरूको विचार ३० वा ३५ वर्षको उमेरमा पुग्दा एकदमै फरक भइसकेको हुन सक्छ। जब दुई जनाको जीवनशैली, आर्थिक स्तर वा रुचिहरू मिल्न छाड्छन्, तब उनीहरू बीच कुरा गर्ने साझा विषयहरू घट्दै जान्छन्, जसले गर्दा बिस्तारै दूरी बढ्छ।
सम्बन्ध जति गाढा हुन्छ, त्यहाँ आश र गुनासाहरू पनि त्यत्तिकै धेरै हुन्छन्। कहिलेकाहीँ सानो कुरामा चित्त दुख्दा वा असमझदारी हुँदा, 'उसैले पहिले फोन गरोस्' वा 'उनी आफैं मकहाँ आओस्' भन्ने अहम् दुवै तर्फबाट पलाउँछ। कसैले पनि पहिलो कदम नचाल्दा एउटा सुन्दर मित्रता मौनताको सिकार बन्न पुग्छ।
हामी घनिष्ठ साथीबाट जहिले पनि बढी अपेक्षा राख्छौँ, जस्तै, आफ्नो दुःखको समयमा उसले साथ देओस्, वा आफ्नो सफलतामा ऊ खुसी होस्। तर कहिलेकाहीँ आफ्नै व्यस्तता वा समस्याका कारण साथीले सोचे जस्तो समय वा भावनात्मक साथ दिन सक्दैन। यस्तो अवस्थामा 'उसले मलाई महत्त्व दिएन' भन्ने भावना मनमा आउँछ र मानिस बिस्तारै टाढिन थाल्छ।
भोलि सायद त्यो संख्या अझै घट्ला। तर ती थोरै साथीहरू नै जीवनका सबैभन्दा अमूल्य सम्पत्ति हुन्छन्। उमेर धेरै हुँदै गयो, साथीहरू थोरै हुँदै गए। भीडमा हिँड्ने मान्छे धेरै भेटिए, तर मन बुझ्ने मान्छे कम हुँदै गए। समयले धेरै साथीहरू खोस्यो, तर बाँकी रहेका केही साँचो साथीहरूले जीवनको मूल्य सिकाए। आखिर अन्त्यमा साथीको संख्या होइन, सम्बन्धको सच्चाइ नै सम्झनामा बाँकी रहने रहेछ।