यो कथा भिन्सेन्ट भ्यान गो (Vincent van Gogh) को हो। नेदरल्याण्ड्सका नागरिक भ्यान गो यस्ता कलाकार हुन् जसलाई बाँचुन्जेल भाग्यले ठगेको थियो तर मरेपछि भने अमर बने। नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डाममा ‘भ्यान गो सङ्ग्रहालय’ छ। म प्रायः कला सङ्ग्रहालयहरूमा त्यति रमाउँदिन। कलाको महत्व नबुझेर त्यस्तो भएको होइन, तर म विशेष गरी चित्रकलाका विशेषताहरू बुझ्न सक्दिनँ। झर्लक्क हेर्दा बाहिरी आकृतिबाट मन पर्यो वा परेन त भन्न सक्दछु, तर त्यसमा प्रयोग भएको रङ, ब्रसको बनावट, ब्रसको नियन्त्रण, प्रकाश वा छायाँको गहिराइ, परिप्रेक्ष्य, मान्छे वा वस्तुहरूको आकार आदि बाट चित्रकलाको विश्लेषण गर्न असमर्थ छु। तर भ्यान गो सङ्ग्रहालय जाँदा मेरो अनुभव नितान्त फरक रह्यो। चित्रकला हेर्दै जाँदा उनको प्रतिभा मात्रै होइन, उनको जीवनी, उनको सोचाइ र व्यक्तित्व पनि उजागर हुँदै जान्छ। जब चित्रकलाले केवल चित्र मात्र नदेखाएर चित्रकारको कथा र व्यक्तित्व पनि सँगसँगै भन्न थाल्छ, तब ध्यान तानिँदै जान्छ, समय गएको पत्तै हुँदैन।
‘भिन्सेन्ट भ्यान गो’ को जीवनकथा हाम्रोसँग मिल्दोजुल्दो भएकोले पनि रोचक लाग्दछ – गरिब परिवार, गाउँले परिवेश र संघर्षपूर्ण जीवन। उनको जन्म सन् १८५३, मार्च ३० मा नेदरल्याण्ड्सको सानो गाउँ जुन्डर्टमा भएको हो। उनका माता–पिताका छ सन्तानमध्ये भिन्सेन्ट भ्यान गो पहिलो सन्तान थिए। पिता ‘थियोडोरस भ्यान गो’ (Theodorus van Gogh) चर्चका पादरी थिए भने आमा गृहिणी थिइन्। आमा पनि कलामा रुचि राख्दथिन।
उनका भाइ थियो भ्यान गो (Theo van Gogh) ले कलाकृति किन्ने, बेच्ने र प्रदर्शनी आयोजना गर्ने जस्ता काम गर्दथे। भिन्सेन्ट भ्यान गोले पनि युवावस्थाका सुरुसुरुमा चित्रकारिताका साथसाथै भाइले जस्तै कला डिलर (art dealer) को काम गरे। त्यसपछि उनले केही समय शिक्षक भएर काम गरे। त्यसपछि धर्म प्रचारकको काम गरे, तर त्यो बाटोमा उनी सफल भएनन्। अन्ततः उनले आफ्नो जीवन पूर्ण रूपमा चित्रकलामा समर्पित गर्ने निर्णय गरे।
उनी जीवित हुँदा धेरैजसो समय आर्थिक कठिनाइ र मानसिक तनावमा बिताए। उनले आफ्नो जीवनकालमा धेरै चित्रहरू बनाए पनि तिनबाट पर्याप्त आम्दानी गर्न सकेनन्। जीवित रहँदा उनका चित्रहरू अत्यन्त कम बिक्री भए, र उनले आफ्नो जीवनको अधिकांश समय गरिबीमा बिताए।

उनको जीवनको सबैभन्दा ठूलो सहारा उनका भाइ थियो भ्यान गो थिए। चित्र बनाउन आवश्यक रङ, क्यानभास र अन्य सामग्री किन्नसमेत उनी प्रायः भाइ थियोको सहयोगमा आश्रित थिए। उमेरले कान्छो भए पनि थियोले उनलाई नियमित रूपमा आर्थिक सहयोग पठाउने मात्र होइन, मानसिक रूपमा पनि ठूलो हौसला दिन्थे। थियो एक कला डिलर भएकाले उनले भ्यान गोका चित्रहरूलाई ग्यालरी र बजारमा पुर्याउने प्रयास पनि गरे। थियो आफ्नो दाजुमा असीमित प्रतिभा भएको विश्वास गर्दथे।
दुई भाइबीच भएको पत्राचार आज पनि सङ्ग्रहालयमा देख्न सकिन्छ। भिन्सेन्ट र थियोले आफ्नो जीवनकालमा एकअर्कालाई लगभग ८५० जति चिठ्ठी लेखेका थिए। ती पत्रहरूबाट भिन्सेन्ट एक बुद्धिमान, भावुक र कलाप्रति पूर्ण रूपमा समर्पित व्यक्ति थिए भन्ने अनुमान गर्न सकिन्छ। उनले आफ्ना पत्रहरूमा जीवन र मृत्यु, प्रेम र मानवताजस्ता विषयमा आफ्ना गहिरा विचारहरू व्यक्त गरेका छन्। भाइ थियोले लेखेका चिठ्ठीहरू पनि उस्तै गहकिला लाग्छन्।
दाजु भिन्सेन्ट र भाइ थियोको सम्बन्धका बारेमा एउटा अति भावनात्मक घटना पनि छ। सन् १८९० मा भ्यान गोका भाइ थियो भ्यान गो र उनकी पत्नी जोहान्नाको कोखबाट छोराको जन्म हुन्छ। भाइले आफ्नो नवजात शिशुको नाम दाजुको नाम आउने गरी ‘भिन्सेन्ट विलियम भ्यान गो’ (Vincent Willem van Gogh) राख्दछन्। यो समाचारले भिन्सेन्ट भ्यान गोलाई अत्यन्त भावुक बनाउँछ। उनले पनि त्यो अवसरमा आफ्ना भतिजाका लागि उपहारस्वरूप भर्खर फुल्दै गरेको बदामको रूखको (Almond Blossom) चित्र बनाएर उपहार पठाउँछन्।

फूल फुलेको बादामको रूखलाई नयाँ जीवनको सुरुवात, आशा र उमङ्गको प्रतीक मानिन्छ। यसैले यो चित्र नवजात शिशुको आगमनप्रति भिन्सेन्टको शुभकामना र आनन्दको अभिव्यक्ति हो भनेर सङ्ग्रहालयमा अर्थ्याइएको छ।
भिन्सेन्ट भ्यान गोको जीवन केवल आर्थिक संघर्षले मात्र होइन, मानसिक पीडाले पनि भरिएको थियो। उनी अत्यन्त संवेदनशील स्वभावका व्यक्ति थिए र जीवनभर एक्लोपन, निराशा तथा मानसिक अस्थिरतासँग जुधिरहे।
भाइ थियो व्यावसायिक कामका लागि अधिकांश समय पेरिसमा बस्दथे। दाजु भिन्सेन्ट पनि आफ्नो कलाको प्रवर्द्धन र प्रचारप्रसारका लागि केही समय भाइसँगै पेरिसमा बसे। पेरिसमा बसेको बखत सन् १८८८ मा फ्रान्सका चर्चित कलाकार पॉल गोगाँ (Paul Gauguin) सँग भ्यान गोको विवाद हुन्छ। त्यसपछि भ्यान गो मानसिक रूपमा अत्यन्त विचलित हुन्छन् र उनले आफ्नो कानको एक भाग काटेका थिए भनेर सङ्ग्रहालयमा बताइएको छ। यो घटनाबाट उनी कुन तहको मानसिक पीडाबाट गुज्रिएका थिए भनेर अनुमान गर्न सकिन्छ। लामो समयसम्म भाइको सहारामा बस्नुपरेकोमा पनि उनले दुख व्यक्त गर्दै चिठ्ठी लेखेका छन्।
मानसिक पीडाले उनलाई सताइरहे पनि उनको सृजनशीलता भने कमजोर भएन। बरु, जीवनका अन्तिम वर्षहरूमा उनले आफ्ना केही उत्कृष्ट चित्रहरू सिर्जना गरे। उनका चित्रहरूमा प्रायः प्रकृति, गाउँले परिवेश र आम मानिसको जीवनशैली देख्न सकिन्छ।
जुलाई १८९० मा उनी गम्भीर रूपमा घाइते अवस्थामा फेला परे। त्यतिबेला भिन्सेन्ट Auvers-sur-Oise नामक सानो सहरमा बसिरहेका थिए भने भाइ थियो पेरिसमा बस्थे। दाजु बिरामी भएको थाहा पाएपछि भाइ उनलाई भेट्न आउँछन्। तर दुई दिनपछि, २९ जुलाई १८९० मा, ३७ वर्षको उमेरमा भिन्सेन्टको निधन हुन्छ। दाजु भिन्सेन्टको मृत्यु भएको केही महिनापछि भाइ थियोको पनि निधन हुन्छ।
थियोकी श्रीमती जोहान्ना र भिन्सेन्टको पनि राम्रो सम्बन्ध थियो। विवाह गरेर घर आएपछि जोहान्नाले जेठाजुलाई उनको कलाले आफ्नो घर भरिएको र ती सबै कला उत्कृष्ट खालका छन् भनेर प्रशंसा गर्दै लेखेका चिठ्ठीहरू सङ्ग्रहालयमा राखिएका छन्। भिन्सेन्टको मृत्यु पछि जोहान्नाले भ्यान गोका सयौँ चित्रहरू, दुई भाइबीच आदानप्रदान भएका पत्रहरूको खोज, सङ्कलन र संरक्षण गरिन्। उनले कला प्रदर्शनीको आयोजना गर्ने, पत्रहरू प्रकाशन गर्ने गरेर भ्यान गोको कलालाई संसारभर चिनाउन ठूलो भूमिका निर्वाह गरिन्। सच्चाई भन्ने हो भने बुहारी जोहान्नाकै कारण भिन्सेन्ट भ्यान गो महान चित्रकार ‘भ्यान गो’ को नामले विश्वप्रसिद्ध हुन्छन्।

भतिजा भिन्सेन्ट विलियम भ्यान गोले आफ्नो ठूला बुवा भिन्सेन्ट भ्यान गोको सम्पदालाई सुरक्षित राख्न उनकै नाममा ‘भ्यान गो फाउन्डेसन’ स्थापना गरे, जुन पछि गएर सङ्ग्रहालयमा रूपान्तरण भयो। यही सङ्ग्रहालय अहिले नेदरल्याण्ड्सको राजधानी आम्स्टर्डाममा ‘भ्यान गो सङ्ग्रहालय’ (Van Gogh Museum) को नामले विश्वप्रसिद्ध छ।
यो सङ्ग्रहालय कला पारखीका लागि मात्र होइन, सर्वसाधारणका लागि पनि रुचिकर लाग्दछ। एउटा कलाकारको संघर्षपूर्ण जीवन, दाजु–भाइको सम्बन्ध, घनिष्ठ पारिवारिक सम्बन्ध र चिठ्ठी–पत्रहरूमा उल्लेखित विचारहरूले जो–कोहीको मन छुन्छ। चित्रकलाहरू पनि एब्स्ट्र्याक्ट नभई प्रकृति, गाउँले परिवेश, पारिवारिक सम्बन्ध जस्ता सरल कुराहरू देखाइएकोले सबैले बुझ्ने खालका छन्।
उच्चकोटिका कलाकार हुँदाहुँदै पनि भिन्सेन्ट भ्यान गोका कलाकृतिको राम्रो प्रचार–प्रसार र व्यापार हुन नसक्दा त्यो बेलाका समकालीन कलाकारको तुलनामा उनको हैसियत कमजोर मात्र भएन, कठिन आर्थिक र मानसिक अवस्थाबाट गुज्रनु पर्यो। फलस्वरूप उनको अल्पायुमै मृत्यु भयो। जीवनभर उपेक्षा र अभाव भोगेका भिन्सेन्ट भ्यान गोलाई मृत्यु पछि भने उनको बुहारी जोहन्ना र भतिजा भिन्सेन्ट विलियमले संसारसामु चिनाए। आज उनी विश्वप्रसिद्ध महान चित्रकारका रूपमा स्मरण गरिन्छन्। यस अर्थमा भिन्सेन्ट भ्यान गगलाई एक अभागी कलाकार भन्न सकिन्छ।